स्थानीय कृषकहरूका लागि गतिलो आर्थिक आम्दानीको माध्यम बन्दै व्यावसायिक भटमास खेती
सोसल साउट समाचार कक्षका अनुसार, भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् । अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको दाबी बढी हुन थालेपछि यहाँका कृषक भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका-५ का कृषक रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको

२ असोज । भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन् । अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको दाबी बढी हुन थालेपछि यहाँका कृषक भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका-५ का कृषक रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो रु १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उनले बताए। थोरै पुँजी प्रवाह र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उनको दाबी रहेको छ ।
‘भटमासखेतीको अर्को मुख्य विशेषता भनेको यसलाई अन्य मुख्य बालीसँगै लगाउन सकिन्छ । सुन्तलाका बगैँचा, मकैबारी, खेतको आली तथा अन्य फलफूलका बोटहरूका बीचमा रहेको खाली जमिन सदुपयोग गरी भटमास रोप्न सकिन्छ’, थापाले भने।
एकातिर खाली जमिनको सही सदुपयोग भई अतिरिक्त आम्दानी दिनुका साथै भटमासको बोटले माटोमा नाइट्रोजन स्थिर गरी उर्वराशक्ति बढाउनसमेत सहयोग पुर्याउने कृषि विज्ञहरू बताउँछन् ।
कृषक भीमप्रसाद फुयाँलका अनुसार बजारमा भटमासको हरियो कोसाको दाबी दिनप्रतिदिन बढ्दो छ । पोषणयुक्त र स्वादिष्ट मानिने भएकाले उपभोक्ताले हरियो कोसालाई निकै रुचाउने गरेका उनको अनुभव छ । ‘बजारमा पुर्याउना साथ सजिलै बिक्री हुने भएकाले कृषकहरूलाई बिक्रीका लागि बजारको कुनै समस्या छैन । हरियो कोसालाई उसिनेर खान तथा तरकारीका रूपमा पनि प्रयोग गर्न उपभोक्ताले खरिद गर्दछन्’, उनले भने।
मुख्य बालीको बीचमा खाली रहेको जमिनमा रोप्दा अतिरिक्त आम्दानी लिन सकिने भएपछि भटमासखेती भोजपुरका ग्रामीण भेगका किसानहरूका लागि जीविकोपार्जन र आर्थिक उपार्जनको दरिलो माध्यम बन्दै गएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।