कोरला नाका जोड्ने सडक खण्ड अवरुद्ध भएपछि भन्सार यार्डमा डेढ सय मालवाहक कन्टेनर अलपत्र
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उनले जानकारी गराए ।

१५ असोज । वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकको ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध हुँदा भएपछि चीनबाट आयात गरिएका सामग्री बोकेका डेढ सय भन्दा बढी कन्टेनर कोरला नाकामा थन्किएका छन् ।
लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा ती कन्टेनर रोकिएर बसेका छन् ।
शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ । जसले कोरलानाकाबाट हुने निकासी तथा पैठारी वाणिज्य कारोबार पूर्ण रूपमा प्रभावित बनेको हो ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि राजमार्ग अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी उपलब्ध गराए ।
‘कोरला नाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,’ भन्सार प्रमुख चुडालले भने, ‘भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।’
तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उनले जानकारी गराए ।
चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढीपहिरो र नदी कटानले राजमार्ग अवरुद्ध हुँदा राजस्व सङ्कलनमा राज्यले वित्तीय नोक्सानी व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले जानकारी गराए ।
उनका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोड बढी राजस्व सङ्कलन गर्दै आइरहेको थियो ।
भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित गृहकार्य सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् ।
यसका साथसाथै, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र सुरक्षाकर्मी बल ३३ नं गुल्म जोमसोमले सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।