नेपाल वायुसेवा निगमको चर्को ऋणभार कम गर्न ब्याजदर पुनरावलोकन गरिँदै : मन्त्री पौडेल
सार्वजनिक नयाँ तथ्य अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको उल्लेख गरेका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छलफल सत्रमा बोल्दै मन्त्री पौडेलले निगमले दुई ठूला वित्तीय संस्थाबाट लिएको ऋणलाई धान्नै नसकिने भन्न नमिल्ने उल्लेख गरेका

१९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको उल्लेख गरेका छन् ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छलफल सत्रमा बोल्दै मन्त्री पौडेलले निगमले दुई ठूला वित्तीय संस्थाबाट लिएको ऋणलाई धान्नै नसकिने भन्न नमिल्ने उल्लेख गरेका हुन् । उनले सहजीकरणका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग संवाद अघि बढाइएको पनि जानकारी उपलब्ध गराए ।
संसदीय समितिको छलफल सत्रमा मन्त्री पौडेलले कर्मचारी सञ्चय कोष र नागरिक पुँजी प्रवाह कोषबाट लिइएको ऋणको ब्याजदर र किस्ता भुक्तानी प्रक्रियालाई व्यावहारिक बनाउन नीतिगत पहल भइरहेको स्पष्ट पारे ।
यी दुवै संस्थामा सर्वसाधारण तथा कर्मचारीहरूको बचत रकम रहेकाले उनीहरूको पुँजी प्रवाह जोखिममा नपर्ने गरी सन्तुलित निकास खोज्नुपर्ने दायित्व सरकारको रहेको उनको दाबी रहेको छ ।
मन्त्री पौडेलले निगमले हाल भोगिरहेको करिब पचास–छपन्न अर्ब रुपैयाँ बराबरको दायित्व राष्ट्रिय ध्वजावाहकजस्तो ठूलो ब्रान्ड र सम्पत्ति भएको संस्थाका लागि असम्भव वा धान्नै नसकिने (अनम्यानेजेबल) स्तरको नभएको जिकिर गरे ।
‘नेपाल वायुसेवा निगम नाफामुखी संस्था होइन, यद्यपि यसलाई वित्तीय रूपमा सक्षम र व्यवस्थित बनाउन आवश्यक छ । निगमको मुख्य समस्या अहिलेको ऋण तथा ब्याजदर व्यवस्थापनसँग सम्बन्धित छ । कर्मचारी सञ्चय कोष र नागरिक पुँजी प्रवाह कोषसँग लिएको ऋणको ब्याजदर पुनरावलोकन गर्न सरकारका तर्फबाट छलफल भइरहेको छ । प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि यस विषयमा कुराकानी भइरहेको छ,’ उनले भने ।
ऋणको ब्याजदर केही परिमार्जन हुनसके निगमले आन्तरिक स्रोत वा विकल्पहरूको उपयोग गरी थप प्रगति गर्नसक्ने विश्वास मन्त्री पौडेलले व्यक्त गरे ।
नयाँ जहाजहरू तत्काल किन्न आर्थिक स्रोत अपुग भएमा भाडा (लिज) मा लिएर सञ्चालन गर्ने वा मौजुदा जहाजहरूकै उडान तालिका (फ्लाइट सेड्युल) वैज्ञानिक बनाएर आम्दानी बढाउन सकिने उनले जानकारी गराए ।
‘ऋण पुनर्संरचना र ब्याजदरमा केही सहजीकरण गर्न सकिए निगमको नगद प्रवाह सहज हुनेछ । तत्पश्चात जहाज खरिद, लिज तथा उडान व्यवस्थापनमा सुधार गर्दै निगमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने देखिन्छ,’ उनले भने ।
निगम केवल नाफामुखी संस्था नभई राष्ट्रिय दायित्व बोकेको सार्वजनिक निकाय भएकाले यसलाई संकटमुक्त बनाउन अन्तर–मन्त्रालय समन्वय तिब्र पारिएको मन्त्री पौडेलले समितिलाई जानकारी गराए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।