विश्वबजारमा पेट्रोलियम मूल्य नियन्त्रण गर्न १० करोड ब्यारेल कच्चा तेल निष्कासन गर्ने आईईएको कदम
घटनाक्रमको ताजा विवरण अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो फैसला आएको हो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का सदस्य राष्ट्रहरूले इन्धनको बढ्दो मूल्य घटाउने प्रयासस्वरूप तेलको सञ्चित भण्डारबाट थप तेल छिटो बजारमा ल्याउने निर्णयप्रति समर्थन जनाएका छन् । होर्मुज जलमार्ग बन्द भएपछि इन्धनको मूल्य बढ्दैगएको छ ।
आईईएका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार सदस्य राष्ट्रका सरकारहरूले यसैवर्षको मार्चमा भएको सामूहिक फैसला कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । उक्त निर्णयअन्तर्गत इरानमाथि अमेरिका–इजरायल युद्धका कारण उत्पन्न आपूर्ति अवरोध सम्बोधन गर्न सदस्य राष्ट्रहरूले आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ राष्ट्रहरूले बजारमा इन्धन आपूर्ति नगरे अमेरिकाबाट डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि आईईएको पछिल्लो फैसला आएको हो । शुक्रबार जी–७ राष्ट्रहरूले १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति गरेका थिए ।
बिरोलले एक वक्तव्य जारी गर्दै अहिलेसम्मको विवरण अनुसार उक्त सम्झौताअन्तर्गत करिब ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा ल्याइसकिएको जानकारी गराए । प्रतिबद्धता जनाइए पनि अहिलेसम्म बजारमा नल्याइएको सम्पूर्ण तेल सञ्चितिमध्ये बाँकी तेल बजारमा ल्याउँदा थप करिब १० करोड ब्यारेल तेल उपलब्ध हुने उनले जानकारी गराए ।
आईईएका केही सदस्य राष्ट्रहरूले सुरुवातमा प्रतिबद्धता जनाएको भन्दा ठूलो परिमाणमा तेल बजारमा ल्याइसकेको पनि बिरोलले जानकारी गराए ।
उनका अनुसार आईईए सदस्य राष्ट्रहरूसँग अझै पनि ठूलो मात्रामा सार्वजनिक स्वामित्वमा रहेका आपत्कालीन तेल भण्डार छन् । तीमध्ये करिब १ अर्ब १० करोड ब्यारेल तेल रहेको र २० करोड ब्यारेलभन्दा बढी डिजेल रहेको उनले जानकारी उपलब्ध गराए । –अलजजीराबाट

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।