कर्णाली प्रदेशका स्थानीय तहहरूमा प्रशासनिक कर्मचारीको चरम अभाव, सेवा प्रवाह अस्तव्यस्त
सार्वजनिक नयाँ तथ्य अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णालीका ७९ वटा स्थानीय तहमा पाँच हजार ६६० दरबन्दी कायम गरिएको छ । जसमा चार हजार २९७ कर्मचारी कार्यरत छन् ।

कर्णाली प्रदेश सरकार मातहतका निकायमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । यस्तै, स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त देखिएको छ ।
गत चैत १९ गते बसेको मन्त्रीपरिषद् उच्चस्तरीय परामर्शले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदासम्म लाेक सेवा आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने कदम चालेको थियो । सोहीअनुसार स्थानीय तहहरूले कर्मचारी दाबी आकृति फाराम नपठाउँदा खुलातर्फको विज्ञापन शून्य भएको हो ।
ओएनएमको काम अझै नसकिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार बिकले जानकारी गराए ।
आयोगले गत असारमा प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायकस्तर चौथो तह (अप्राविधिक र प्राविधिक) ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक अन्तर सेवा प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो ।
त्यसयता करिब ११ महिनाको अवधिमा खुलातर्फका सूचना नभएको आयोगका सूचना अधिकारी सन्तोष पाण्डेले जानकारी गराए । प्रदेश लोक सेवा आयोगले लामो समयपछि यही जेठ ६ गते चौथो र पाँचौँ तहको बढुवाका लागि तीन वटा सूचना प्रकाशन गरेको उनले जानकारी उपलब्ध गराए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णालीका ७९ वटा स्थानीय तहमा पाँच हजार ६६० दरबन्दी कायम गरिएको छ । जसमा चार हजार २९७ कर्मचारी कार्यरत छन् ।
प्रदेशमा सबैभन्दा बढी प्रशासनतर्फ ४७७ कर्मचारीको दरबन्दी रिक्त छ । यसबाहेक, इन्जिनियरिङमा ४२१, कृषितर्फ २३७, स्वास्थ्य सेवातर्फ १५२, शिक्षा सेवामा ५१ र विविध सेवामा २५ जनशक्ति रिक्त छ ।
मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले प्राविधिक तर्फका कर्मचारीको दरबन्दी पूर्ति नहुँदा सेवाप्रवाह र विकास निर्माणमा नकारात्मक असर परेको जानकारी गराए । उनका अनुसार शिक्षातर्फ पाँचौँदेखि नवौँ तहसम्म १८३ दरबन्दी कायम गरिएकामा १३२ जनाको पदपूर्ति भएको छ भने इन्जिनियरिङतर्फ एक हजार ५५ दरबन्दी स्वीकृत भएकामा ६३४ जना कार्यरत छन् ।
प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा, प्रदेश सुरक्षाकर्मी सेवा, प्रदेशसभा सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उम्मेदवार छनोट गर्ने कानुनी अधिकार पाएको छ । कर्णाली सरकारले प्रशासनिक पुर्नसंरचना लागि अघिल्लो वैशाख ५ गते पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
समितिले झन्डै दुई महिनाको अध्ययनपछि गत असार १५ गते सरकारलाई आठ मन्त्रालयको सङ्ख्या घटाएर छ वटामा झार्ने, केही निर्देशनालय र कार्यालय खारेज गर्ने तथा करिब दुई हजार ९०० को सङ्ख्यामा रहेको कर्मचारी दरबन्दी घटाएर दुई हजार ५०० कायम गर्नेलगायत सिफारिससहितको प्रतिवेदन बुझाएको थियो । सोहीअनुसार प्रदेश सरकारले नयाँ ओएनएम गर्न लागेको हो ।
समितिको सिफारिसअनुसार गत मङ्सिर १ गतेदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गाँभिएको थियो भने मन्त्रालयमा रहेको २५ दरबन्दी कमी गरिएको थियो । नयाँ ओएनएमका लागि स्थानीय तहबाट कर्मचारीको दरबन्दी विवरण दाबी गरिएको मुख्यमन्त्री कार्यालयका सचिव बिकले जानकारी उपलब्ध गराए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।