प्राधिकरणले विद्युत् पोल नसार्दा चोहर्वा बजारको नाला निर्माणमा ढिलाइ सम्बन्धी ताजा अपडेट
पछिल्लो विकसित घटनाक्रम अनुसार, स्थानीयका अनुसार पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक पहल हुन सकेको छैन ।

सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वा बजारमा भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाद्वारा नाला निर्माण कार्य विद्युत् पोल स्थानान्तरण नहुँदा अधुरो रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयका अनुसार पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक पहल हुन सकेको छैन ।
चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रप्रसाद सिंहले वडाको सिफारिससहित नेपाल विद्युत् प्राधिकरण मिर्चैयामा पोल हटाउन निवेदन दर्ता गराएको महिनौँ बितिसक्दा पनि कुनै सुनुवाइ नभएको जानकारी गराए । उनले भने, ‘ठाउँ–ठाउँमा रहेका पोलका कारण नालाको जोड्ने काम हुन सकेको छैन । नाला नजोडिँदा पानी जम्ने, दुर्गन्ध फैलिने तथा सर्वसाधारण र बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असरपर्ने जोखिम बढने देखिएको छ ।’
स्थानीय शिवकुमार यादवले नाला निर्माणपछि बजार व्यवस्थित हुने आशा तथा विश्वास गरे पनि अधुरो निर्माणका कारण समस्या झन् बढेको जानकारी गराए । उनका अनुसार पानी जम्दा आवतजावत र किनमेलमा समेत कठिनाइ भइरहेको छ ।
भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर शेखरमणि सिंहले विद्युत् पोल नसारिएकै कारण बाँकी काम रोकिएको स्वीकार गरे । उनले पोल स्थानान्तरण भएलगत्तै नालाको जोड्ने कार्य थालनी गरिने जानकारी उपलब्ध गराए ।
भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त योजनाको ठेक्का नं. ४७ अन्तर्गत ४५ लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरेको थियो ।
सोही योजनाअन्तर्गत मिर्चैयास्थित चन्द्र कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ३८ लाख ७९ हजार ७८ रुपैयाँमा ठेक्का सहमतिपत्र गरेको छ । कम्पनीले अहिलेसम्मको विवरण अनुसार २९ लाख ८ हजार २७८ रुपैयाँ भुक्तानी पाइसकेको कार्यालयले सार्वजनिक गरेको छ ।
नेपाल विधुत प्राधिकरण मिर्चैया शाखाका सुपरभाइजर जीवछ शर्माले निवेदन दिएर मात्रै काम नहुने जानकारी गराए । ‘निवेदन दिनेले समय–समयमा ताकेता गर्नुपर्ने हुन्छ । दिनमा ५ देखि १० वटा यस्ता निवेदन आउँछन् । कर्मचारीहरू पनि फिल्डमै हुन्छन् । समन्वय नभएको कारण ढिलो भएको हुनसक्छ,’ उनले भने ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।