कृत्रिम अभाव गराएको भन्दै गृहलक्ष्मी ग्यास र डिलरविरुद्ध पोखरा प्रशासनमा उजुरी बारे पछिल्लो विकसित घटनाक्रम
सार्वजनिक नयाँ तथ्य अनुसार, पोखरामा ग्यास अभाव भइरहेका बेला उक्त कम्पनीले मनोमानी ढंगले बागलुङ लगायत जिल्लामा ग्यास पठाएको प्रमाण समेत संघले पेस गरेको बताएको रहेको तथ्य सार्वजनिक भएको छ।

पोखरा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको भन्दै एलपी ग्यास विक्रेता संघ कास्कीले गृहलक्ष्मी ग्यास कम्पनी प्रालि र त्यसको एक डिलरविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएको छ ।
संघले प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षणपत्र बुझाउँदै कालोबजारी र कृत्रिम अभाव गराउनेमाथि कडा कारबाहीको दाबी गरेको हो ।
संघ अध्यक्ष नारायणदत्त दाहालद्वारा हस्ताक्षरित निवेदनमा गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनीले आफ्नै नजिकको ‘शुभचेरिस्मा एम्पोरियम प्रालि’ लाई नयाँ डिलर खडा गरी पोखराको वितरण प्रणाली प्रभावित पारेको लाञ्छना लगाइएको छ ।
पोखरामा ग्यास अभाव भइरहेका बेला उक्त कम्पनीले मनोमानी ढंगले बागलुङ लगायत जिल्लामा ग्यास पठाएको प्रमाण समेत संघले पेस गरेको बताएको छ ।
संघका अनुसार साउन १२ गते बागलुङमा बिल नम्बर २२८ मार्फत ग्यासको बिल बिजक जारी गरी बिक्री गरिएको र ‘कनेक्ट आईपीएस’ मार्फत रकम भुक्तानी लिएको सप्रमाण प्रशासनलाई बुझाइएको छ । यसभन्दा अघिल्लो चरणमा २०८२ भदौ ३ मा पनि संघले यसै विषयमा प्रशासनमा निवेदन दिएको थियो ।
सरकारी निर्देशन अवज्ञा गर्दै सिलिन्डर धरौटी असुली
सरकारले ग्यास अभाव भएको समयमा कुनै पनि उद्योग वा विक्रेतालाई सिलिन्डर धरौटी (डिपोजिट) नराख्न निर्देशन दिएको छ । यद्यपि, शुभचेरिस्मा एम्पोरियमले सरकारी निर्देशनको धज्जी उडाउँदै बागलुङमा ३ सय थान सिलिन्डर डिपोजिट गराएर उपभोक्तालाई ग्यास खरिद गर्न बाध्य पारेको र अनुचित मुनाफा आर्जन गर्ने उद्देश्य राखेको संघको दाबी छ ।
यसरी बाहिरी जिल्लामा ग्यास पठाउँदा कास्की जिल्लामा समानुपातिक वितरण हुन नसकी कृत्रिम अभाव सिर्जना भएको संघले सार्वजनिक गरेको छ ।
यसबाहेक गृहलक्ष्मी ग्यास र उक्त डिलरको मिलेमतोमा आधिकारिक डिलर नै नभएका अन्य कम्पनीका सिलिन्डर समेत उठाएर बजारमा अभाव गराएको लाञ्छना पत्रमा लगाइएको छ ।
यो विषय जिल्ला प्रशासन कार्यालयकै मुचुल्कामा समेत प्रस्टरूपमा देखिइसकेको भन्दै संघले गृहलक्ष्मी ग्यास कम्पनी र उक्त डिलरलाई तत्काल कानुनी विभागीय कारबाही गर्न दाबी प्रस्तुत गरेको छ ।
ग्यास विक्रेता संघ कास्कीले यस उजुरीको बोधार्थ नेपाल आयल निगम लिमिटेड (बबरमहल), एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपाललाई समेत पठाएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।