तत्काल महाधिवेशन प्रक्रिया नरोके कांग्रेस फुटको दिशातर्फ धकेलिने नेता रमेश लेखकको चेतावनी
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। […]

२१ भदौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।
उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर किचलो समाधान गर्नुपर्ने उनको भनाइ छ।
लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको दाबी नरहेको भन्दै १४ औँ महाधिवेशनमा रहेका यद्यपि विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको उनको भनाइ छ।
निर्वाचन समिति, क्रियाशील सदस्यता तहकिकात समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले जानकारी गराए ।
‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, यद्यपि मिल्न सकिरहेको छैन,’ उनले भने । उनले पार्टी मिल्ने सम्भावना अझै रहेको पनि उल्लेख गरे।
उनले भने, ‘हालको अवस्थामा पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ ।’
अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा पनि लेखकले राखे ।
आधिकारिकता सम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेकाले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने उनको भनाइ थियो । लेखकले पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया थालनी गर्ने पक्षले लिनुपर्ने चेतावनीसमेत दिए ।
सभापति गगन थापा नेतृत्वले आगामी असोज १६-१९ गते पार्टीको १५औं महाधिवेशनको मिति तोकेको छ। यद्यपि संस्थापन इतर समूहले भने यसलाई स्वीकार गर्न नसकिने भन्दै महाधिवेशन मंसिरमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।