पाकिस्तानमा विपक्षी दल पीटीआईमाथि दमन : इमरान खान नेतृत्वका २७८ नेता-कार्यकर्ता हिरासतमा
सोसल साउट समाचार कक्षका अनुसार, पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई सुरक्षा संयन्त्रले हिरासतमा लिएको छ । दुई सुरक्षाकर्मी अधिकारीका अनुसार खानको रिहाइको दाबी गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका

२६ असोज । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई सुरक्षा संयन्त्रले हिरासतमा लिएको छ ।
दुई सुरक्षाकर्मी अधिकारीका अनुसार खानको रिहाइको दाबी गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् ।
खानका समर्थकहरूले कठोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।
पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि नियन्त्रण गरिएको सार्वजनिक गरेको छ । एक प्रशासनिक अधिकारीका अनुसार उहाँलाई आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखेर पछि अर्को स्थानमा सारिएको थियो । अधिकारीले उहाँलाई कहाँ सारिएको हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।
खैबर पख्तुनख्वा पीटीआईको बलियो आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म त्यहाँको पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने सार्वजनिक गरेको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको लाञ्छना लगाउँदै आपत्कालीन शासन आवश्यक भएको दाबी गरेको छ ।
पीटीआईले भने संवैधानिक उपायको विरोध गर्दै त्यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारको सत्ता कब्जाको प्रयास भनेको छ ।
पूर्वक्रिकेट खेलाडीसमेत रहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। सन् २०२३ मेमा भएका सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शनपछि उनले आर्थिक हिनामिना र हिंसा भड्काएको लगायतका लाञ्छना सामना गरिरहेका छन्। खान र उनको कानूनी टोलीले भने ती लाञ्छना अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन्।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।