भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि कूटनीतिक पहल तीव्र पार्ने प्रस्तावित राजदूतको उद्घोष
सार्वजनिक नयाँ तथ्य अनुसार, भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले भुटानी शरणार्थीको घर फिर्तिकालागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

२६ असोज । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले भुटानी शरणार्थीको घर फिर्तिकालागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
संसदीय सुनुवाइ समितिमा उनले यस्तो प्रतिवद्धता गरेका हुन्। ‘६ हजार बढी भुटानीको घर फिर्तीको लागि भुटान सरकारसँग कुरा गर्नेछु’ पाण्डेले सुनुवाइ समितिको छलफल सत्रमा भने ।
भारतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको खण्डमा पाण्डेले भुटान पनि हेर्नेछन ।
सरकारी तथ्यांकअनुसार नेपालमा हाल ६ हजार २७२ जना भुटानी शरणार्थी रहेका छन् ।
भुटानी शरणार्थीहरू मुख्यतया झापा र मोरङ जिल्लामा रहेका शिविरहरूमा बस्दै आएका छन् ।
पाण्डेका अनुसार भुटानले नेपालीभाषी समुदायका मानिसलाई आफ्नो नागरिक नभएको भन्दै बाहिर पठाएको विषय लामो समयदेखि उठ्दै आएको छ । यस विषयमा नेपालको मानवीय र नीतिगत धारणा स्पष्ट हुनुपर्छ ।
‘हाम्रो धारणा उनीहरूको नागरिकता र अधिकारसम्बन्धी समस्या समाधान हुनुपर्छ भन्ने हो’ पाण्डेले स्पष्ट पारेका छन्, ‘भुटानी मूलका नागरिकको जिम्मेवारी भुटानले लिनुपर्छ ।’
यस विषयमा नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भएका छन् । यद्यपि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन । उनका नजरमा नेपालले आफ्नो मानवीय दायित्व र स्थापित नीतिअनुसार यस विषयलाई निरन्तर उठाउनुपर्छ ।
पुनर्वास भएर अस्ट्रेलिया, अमेरिका र अन्य देशमा पुगेका केही शरणार्थीका आफन्त अझै शिविरमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘कतिपय व्यक्ति आफ्ना श्रीमान्, श्रीमती, बुबाआमा वा छोराछोरीसँग भेट्न चाहन्छन्, यद्यपि विभिन्न कारणले त्यसो गर्न सकेका छैनन् ।’
परिवार पुनर्मिलनका यस्ता समस्यामा पनि पहल गर्न आवश्यक रहेको भन्दै उनले स्पष्ट पारेका छन्, ‘राजदूतका रूपमा यस विषयमा सम्बन्धित निकायसँग संवाद गर्ने प्रयास गर्नेछु ।’

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।