दुर्गम बाजुरा जिल्ला अस्पतालमा तीन दिनभित्र आठ वटा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
पछिल्लो प्रतिवेदन अनुसार, जिल्ला स्वास्थ्य संस्था बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको रहेको तथ्य सार्वजनिक भएको छ।

जिल्ला स्वास्थ्य संस्था बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्याबाट पीडित बिरामीको शल्यक्रिया गरिएको हो ।
जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिशबहादुर मल्लकाअनुसार कात्तिक १० गते ६५ वर्षीय पुरुषको बायाँ काँधको हड्डी भाँचिएर जोर्नी खुस्किएको समस्याको उपचार गरिएको थियो । सोही दिन १४ वर्षीय बालकको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डी निको भएपछि पहिले राखिएको इम्प्लान्ट निकालिएको थियो ।
यसबाहेक, कात्तिक ११ गते चार वर्षीय बालकको दायाँ हातको कुहिनो नजिक भाँचिएको हड्डीमा तार राखेर शल्यक्रिया गरिएको थियो । १३ वर्षीय बालकको बायाँ हातका दुवै हड्डी भाँचिएको अवस्थामा एउटा हड्डीमा प्लेट राखेर र अर्कोमा तारको सहायताले शल्यक्रिया गरिएको थियो । सोही दिन २९ वर्षीय पुरुषको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डीमा प्लेट राखेर उपचार गरिएको डा. मल्लले वताए ।
कात्तिक १२ गते चार र छ वर्षीया दुई बालिकाको हातको कुहिनो नजिक भाँचिएको हड्डीको शल्यक्रिया गरिएको थियो । छ वर्षीया बालिकाको जटिल प्रकृतिको तेस्रो तहको चोटको उपचार बन्द विधिबाट तार राखेर गरिएको थियो । सोही दिन ४० वर्षीय पुरुषको दायाँ तिघ्राको माथिल्लो भागमा देखिएको गाँठो शल्यक्रिया गरी निकालेर परीक्षणका लागि नमुना सङ्कलन गरिएको अस्पतालले सार्वजनिक गरेको छ ।
यस्तै, सो अवधिमा जिल्ला अस्पतालमा तीन सय जना बिरामीले स्वास्थ्य जाँच तथा विभिन्न उपचार सेवा लिएका छन् । डा. मल्लले जिल्लामा हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेको बताउँदै अर्थोपेडिक चिकित्सकको उपलब्धताले नागरिकलाई सहज भएको वताए ।
“सामान्य उपचार यसभन्दा अघिल्लो चरणमा पनि हुँदै आएको थियो । यद्यपि, आइसियु आवश्यक पर्ने तथा कम्मर र टाउकोसम्बन्धी जटिल शल्यक्रिया भने यहाँ सम्भव छैनन”, उनले भने, “एमडीजीपी र अर्थोपेडिक चिकित्सकबाट हुने शल्यक्रिया भने सफलतापूर्वक भइरहेका छन् ।”
उनकाअनुसार जिल्लामै जटिल शल्यक्रिया हुन्छ भन्ने जानकारी नहुँदा कतिपय बिरामी उपचारका लागि धनगढी र काठमाडौँसम्म पुग्ने गरेका छन् । त्यसक्रममा बिरामीले उपचारका लागि बढी समय र रकम खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै उनले जिल्लामै उपलब्ध उपचार सेवा लिन नागरिकलाई आग्रह गरेका छन्।
अस्पतालले शल्यक्रिया सेवाबापत न्यूनतम पाँच सयदेखि अधिकतम १० हजारसम्म शुल्क लिने गरेको सार्वजनिक गरेको छ । जिल्लामै विशेषज्ञ चिकित्सकबाट शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुनुका साथै बिरामीको समय र खर्चसमेत बचत हुने आशा तथा विश्वास गरिएको छ ।
जिल्ला अस्पतालमा गत पुस महिनादेखि अर्थोपेडिक सर्जन डाक्टर शिरिष श्रेष्ठसहित विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छात्रवृत्ति करारमा २०८३ भदौदेखि एमडीजीपी डाक्टर राहुल श्रेष्ठलाई समेत पठाएको छ ।
आधारभूत रूपमा १५ शय्याको स्वीकृति पाएको जिल्ला अस्पतालले सीमित स्रोतसाधन र जनशक्तिका बीच हाल ५७ शय्या सञ्चालन गरिरहेको छ । पछिल्लो समय भौतिक पूर्वाधार र विशेषज्ञ स्वास्थ्य सेवा विस्तार भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ ।
अस्पतालका सूचना अधिकारी नृपराज गिरीकाअनुसार हालको अवस्थामा बाजुरासहित छिमेकी जिल्ला हुम्ला र मुगुबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दैनिक एक सय ५० जनाको हाराहारीमा बिरामीले सेवा लिने गरेको गिरीले वताए ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।