विश्वकपको पहिलो खेलमै पाँच पटकको विजेता ब्राजिललाई मोरक्कोले बराबरीमा रोक्दै स्तब्ध पार्यो
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, छैटौं ट्रफी जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं ट्रफी जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।
फिफा विश्वकपमा ८ वर्षपछि ब्राजिलले पहिलो खेलमा विजय निकाल्न सकेन । यसभन्दा अघिल्लो चरणमा सन् २०१८ मा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरी खेलेको थियो ।
यद्यपी ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए । इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । यद्यपि त्यो अग्रता लामो समय टिकेन । ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेण्डरहरुलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबारको तेस्रो खेल स्कटल्याण्ड र हाइटीबिच पौने ७ बजे थालनी हुनेछ ।
Photo Credit: IMAGO / Sports Press Photo

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।