एक दशकपछि फर्कियो विशेष ओलम्पिक्स : बौद्धिक अपाङ्गता भएका खेलाडीहरू उपत्यकाव्यापी खेलकुदमा भिड्दै
घटनाक्रमको ताजा विवरण अनुसार, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा विकास तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतिस्पर्धा २०८३’ आयोजना भएको छ । स्पेशल ओलम्पिक्स नेपाल र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा आइतबार ललितपुरको जाउलाखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा प्रतिस्पर्धा सञ्चालन हुने भएको हो । शनिबार राजधानीमा आयोजित […]

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा विकास तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘उपत्यकाव्यापी विशेष ओलम्पिक्स खेल प्रतिस्पर्धा २०८३’ आयोजना भएको छ ।
स्पेशल ओलम्पिक्स नेपाल र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा आइतबार ललितपुरको जाउलाखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा प्रतिस्पर्धा सञ्चालन हुने भएको हो ।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका २४ जना बौद्धिक अपाङ्गता भएका महिला तथा पुरुष प्रतिस्पर्धी खेलाडी सहभागी हुने जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत ५० मिटर र १०० मिटर दौड, लङ जम्प तथा सफ्ट बल थ्रो खेलमा प्रतिस्पर्धा गराइनेछ ।
स्पेशल ओलम्पिक्स नेपालकी अध्यक्ष शिला थापाले विभिन्न कारणले लामो समयदेखि स्थगित रहेको विशेष ओलम्पिक्स प्रतिस्पर्धा करिब १० वर्षपछि पुनः आयोजना गर्न लागिएको बताइन् । उनले खेलकुदमार्फत बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास वृद्धि हुनुका साथै अभिभावकलाई समेत सकारात्मक ऊर्जा मिल्ने विश्वास व्यक्त गरिन् ।
‘यस्ता प्रतियोगिताले खेलाडीहरूको प्रतिभा पहिचान गर्न, नेतृत्व क्षमता विकास गर्न तथा समाजमा उनीहरूको सहभागिता र पहिचान बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन् ।
नेपाली खेलाडीहरूले विगतमा अन्तर्राष्ट्रिय स्तरका विशेष ओलम्पिक्स प्रतियोगितामा सहभागी भई विभिन्न पदकसमेत जितिसकेको उनले स्मरण गराइन् ।
स्पेशल ओलम्पिक्स नेपालका उपाध्यक्ष डा. लाक्पा शेर्पाले अमेरिकाबाट थालनी भएको विशेष ओलम्पिक्स अभियानले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको जानकारी गराए । नेपालमा पनि यस्ता व्यक्तिहरूलाई खेलकुदमार्फत सशक्त बनाउन प्रतिस्पर्धा आयोजना गरिएको उनको दाबी रहेको छ ।
महासचिव सीमा राईका अनुसार सन् २०२७ मा अमेरिकामा आयोजना हुने विशेष ओलम्पिक्स प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने गृहकार्य गरिरहेको छ । सोही तयारीलाई लक्षित गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी उपलब्ध गराए ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने आयोजकले सार्वजनिक गरेको छ । विशेष ओलम्पिक्सको पुनरागमनसँगै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा उजागर गर्ने तथा समावेशी खेल संस्कृतिलाई प्रवद्र्धन गर्ने आशा तथा विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।