श्रीलंकाका अन्तर्राष्ट्रिय ब्याटर निरोशन डिक्वेला पुनः लुम्बिनी लायन्सको जर्सीमा देखिने
सोसल साउट समाचार कक्षका अनुसार, नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई आगामी सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ । गत सिजन लुम्बिनीलाई ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेलेका डिक्वेला आगामी सिजन पनि च्याम्पियन टोलीबाटै खेल्ने भएका हुन् । डिक्वेला गत सिजन समूह चरणका चार खेलपछि लुम्बिनीको टोलीमा आबद्ध भएका थिए […]

२८ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई आगामी सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ ।
गत सिजन लुम्बिनीलाई ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेलेका डिक्वेला आगामी सिजन पनि च्याम्पियन टोलीबाटै खेल्ने भएका हुन् ।
डिक्वेला गत सिजन समूह चरणका चार खेलपछि लुम्बिनीको टोलीमा आबद्ध भएका थिए । त्यतिबेला लुम्बिनीले तीन खेलमा पराजय बेहोरेर संकटमा थियो । डिक्वेला टोलीमा आएपछि भने लुम्बिनीले बाँकी सबै ६ खेल जित्दै ट्रफी जितेको थियो ।
लुम्बिनीबाट खेलेका ६ खेलमा डिकवेलाले १२२ भन्दा माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए । उनको ब्याटिङ औसत ३४.२५ थियो, जुन टोलीका ब्याटरमध्ये सबैभन्दा बढी थियो । लुम्बिनीबाट उनीभन्दा बढी रन रोहित पौडेलले २७६ र डार्सी शर्टले २५६ रन बनाएका थिए ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले डिक्वेलालाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको जानकारी गराए ।
‘निरोशन डिक्वेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हामी हर्षित छौं । गत सिजनमा उनले व्यक्तिगत प्रदर्शनमात्र गरेनन्, टोलीलाई एकजुट बनाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए। उनी च्याम्पियन प्रतिस्पर्धी खेलाडी हुन्, किनभने उनले लुम्बिनी लायन्सबाट खेल्दा कुनै खेल हारेका छैनन्। आगामी सिजन पनि उनले यही भूमिका निभाउने आशा तथा विश्वास लायन्सको रहेको छ,’ जिसीले भने।
डिक्वेलाले गत सिजन क्वालिफायर–२ मा २२ बलमा २९ रन बनाएका थिए । उनको योगदानमा लुम्बिनीले ८ विकेट गुमाएर १३४ रन बनाउँदै उक्त स्कोर रक्षा गरेको थियो ।
विराटनगर किंग्सविरुद्धको समूह चरणको खेलमा पनि उनले २२ बलमा अविजित २९ रन बनाएका थिए । पोखरा एभेन्जर्सविरुद्ध भने उनले २२ बलमा ३७ रन बनाएका थिए, जुन एनपीएलमा उनको व्यक्तिगत उच्च स्कोर हो ।
फाइनलमा डिक्वेलाले १२ बलमा अविजित ११ रन बनाएका थिए।
३३ वर्षीय डिकवेला हालै श्रीलंकामा दम्बुला सिक्सर्सबाट लंका प्रिमियर लिग खेलेका थिए । उनले श्रीलंकाका लागि ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।