लिग चरणको बदला लिँदै अन्नपूर्ण स्पाइकर किंग्स बन्यो एनभीएल च्याम्पियन, कर्णाली उपविजेतामा सीमित
सार्वजनिक नयाँ तथ्य अनुसार, अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको ट्रफी जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णालीलाई सोझो सेटमा ३–० ले पराजित गर्दै पहिलो च्याम्पियन बन्न सफल भयो । अन्नपूर्णले २५–१५, २५–२० र २५–१८ […]

२७ भदौ । अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको ट्रफी जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको फाइनलमा अन्नपूर्णले कर्णालीलाई सोझो सेटमा ३–० ले पराजित गर्दै पहिलो च्याम्पियन बन्न सफल भयो । अन्नपूर्णले २५–१५, २५–२० र २५–१८ को विजय निकाल्दै उपाधिसँगै २० लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो । यो नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक पुरस्कार राशि हो ।
उपविजेता कर्णाली याक्सले ५ लाख रुपैयाँ बाजि मार्यो ।
मंगोलियाली प्रतिस्पर्धी खेलाडी उरानबायर मंखबायर, इंख एर्डेन जारगालसोट र तुर्मान्डाख गान्खुयागको उत्कृष्ट प्रदर्शनसँगै कप्तान हिमाल सुनारको नेतृत्वमा अन्नपूर्णले खेलभर कर्णालीलाई दबाबमा राख्यो ।
फाइनलको दोस्रो सेटमा रेफ्रीको निर्णयलाई लिएर किचलो उत्पन्न भएको थियो । अन्नपूर्ण ५–२ ले अगाडि रहेका बेला फस्ट रेफ्री विजय केसीले अन्नपूर्णको पक्षमा अंक दिएपछि कर्णालीका कप्तान पहल गहतराजसहित प्रतिस्पर्धी खेलाडी असन्तुष्ट बने ।
तत्पश्चात प्रतिस्पर्धी खेलाडी, प्रशिक्षक र टोलीका अधिकारीहरू कोर्ट छाडेर बाहिर बसेका थिए । केहीबेर खेल बहिष्कारको अवस्था सिर्जना भए पनि नेपाल भलिबल संघका उपाध्यक्ष भरतबहादुर शाह र लिगका इन्टिग्रिटी अफिसर श्रवण कुमार झाले सम्झाएपछि कर्णाली पुनः कोर्टमा फर्किएको थियो ।
यस क्रममा कर्णालीका एक समर्थकले कोर्टतर्फ पानीको बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले उनलाई हलबाहिर निकालेका थिए ।
पहिलो हारपछि एकपछि अर्को गरी पाँच विजय
अन्नपूर्णको ट्रफी यात्रा पहिलो खेलबाट हेर्दा झन् विशेष बन्यो । टोलीले उद्घाटन खेलमै कर्णाली शिवराजसँग पराजय बेहोरेको थियो । तत्पश्चात भने मंगोलियाको राष्ट्रिय टोलीका तीन खेलाडीको आगमनसँगै अन्नपूर्णले एकपछि अर्को गरी पाँच खेल जित्दै ट्रफी उचाल्यो ।
काठमाडौं रेड्सलाई सोझो सेटमा हराएर लय समातेको अन्नपूर्णले मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० तथा निर्णायक लिग खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ ले पराजित गर्दै सिधै फाइनल पुगेको थियो ।
ट्रफी यात्रामा हिमाल सुनारी, सुरेन्द्र केसी, जितबहादुर शार्की, देव राना र जापानबाट आएका रवि केसीले पनि महत्त्वपूर्ण योगदान दिए ।
विश्वास अधिकारी, राजेन्द्र धामी र विवश आले मगरले पनि कोर्टमा अवसर पाए भने ट्यालेन्ट हन्टबाट टोलीमा परेका किरण भण्डारीले पहिलो संस्करणमै विदेशी तथा राष्ट्रिय स्तरका खेलाडीसँग ड्रेसिङ रुम साझेदारी गर्दै महत्वपूर्ण अनुभव बटुले।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।