बाढी प्रभावित विपन्न नागरिकको सहयोगार्थ काठमाडौं शिक्षालय ललितपुरद्वारा बृहत् साइकल र्याली आयोजना
सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार, संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्याली आयोजना गर्ने भएको छ । असोज ३ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने र्याली काठमाडौं शिक्षालय, महालक्ष्मी–४, इमाडोलबाट थालनी भई पुनः विद्यालयमै समापन हुनेछ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ

२८ भदौ । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा बाढीपीडित परिवारको सहयोगार्थ २५ किलोमिटर साइकल र्याली आयोजना गर्ने भएको छ ।
असोज ३ गते शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने र्याली काठमाडौं शिक्षालय, महालक्ष्मी–४, इमाडोलबाट थालनी भई पुनः विद्यालयमै समापन हुनेछ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
विद्यालयका अध्यक्ष तथा पर्वतारोही प्रकाशराज पाण्डेका अनुसार हालै आएको बाढीबाट प्रभावित परिवारका लागि सहयोग जुटाउनु र विद्यार्थी तथा युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु र्यालीको मुख्य उद्देश्य हो ।
र्यालीमा काठमाडौं शिक्षालयका विद्यार्थी, अभिभावक, शिक्षक, नजिकका विद्यालयका विद्यार्थी तथा शिक्षकसँगै साइकलप्रेमीहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार करिब २०० जना सहभागी हुने आशा तथा विश्वास गरिएको छ ।
प्रतियोगितामा उमेरअनुसार दूरी निर्धारण गरिएको छ । १० वर्षमुनिका सहभागीले १० किलोमिटर, १५ वर्षसम्मका सहभागीले १५ किलोमिटर तथा खुला तथा व्यवसायिक समूहले पूर्ण २५ किलोमिटर दूरी तय गर्नेछन् । र्यालीको मार्गले महालक्ष्मी नगरपालिकाका १ देखि १० वटै वडा समेट्ने पुष्टि गरिएको छ ।
आयोजकले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायसँग अभियान सफल बनाउन आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेको छ ।
विद्यालयले ‘साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ’ भन्ने सन्देशसहित यस कार्यक्रमलाई खेलकुद गतिविधिमात्र नभई मानवीय सहयोग अभियानका रूपमा अघि बढाएको सार्वजनिक गरेको छ ।

पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।