उत्कृष्ट खेल प्रदर्शन गर्दै फिक्कलका दुवै टिम यू–१७ राष्ट्रिय रग्बीको सेमिफाइनलमा प्रवेश
प्राप्त पछिल्लो विशेष विवरण अनुसार, दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आइतबार लिग चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । पुरुषतर्फ समूह ‘ए’ मा गोलबजार नगरपालिका समूह विजेता र फिक्कल

२५ असोज । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आइतबार लिग चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
पुरुषतर्फ समूह ‘ए’ मा गोलबजार नगरपालिका समूह विजेता र फिक्कल गाउँपालिका उपविजेता बने । गोलबजारले टोखालाई १–० ले हराउँदा फिक्कलसँग १–१ को बराबरी खेलेको थियो। फिक्कलले टोखालाई २–१ ले पराजित गरेको थियो ।
पुरुषतर्फ पहिलो सेमिफाइनलमा गोलबजारले कटारी नगरपालिकासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बूढानीलकण्ठ नगरपालिका र फिक्कल गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा बूढानीलकण्ठले कटारीलाई ३–१ ले हराउँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
महिलातर्फ समूह ‘ए’ बाट बूढानीलकण्ठ नगरपालिका विजेता र टोखा नगरपालिका उपविजेता बने । बूढानीलकण्ठले एक विजय र एक बराबरीको नतिजा निकाल्दा टोखाले दुवै खेल बराबरी खेलेको थियो ।
समूह ‘बी’ मा कटारी नगरपालिका विजेता र फिक्कल गाउँपालिका उपविजेता बने । दुवै टोलीले एक विजय र एक बराबरी खेलेका थिए । कटारीले लुम्बिनी नगरपालिकालाई ६–० ले हराएको थियो भने फिक्कलसँग बराबरी खेलेको थियो। फिक्कलले लुम्बिनीलाई २–० ले पराजित गरेको थियो ।
महिलातर्फ पहिलो सेमिफाइनलमा बूढानीलकण्ठ र फिक्कल तथा दोस्रो सेमिफाइनलमा कटारी र टोखाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल, तेस्रो स्थानका लागि हुने खेल र फाइनल सोमबार सञ्चालन हुनेछन् ।
फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतिस्पर्धा आइतबारदेखि थालनी भएको हो । प्रतिस्पर्धा महिला र पुरुष दुवैतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुवै विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले सार्वजनिक गरेको छ ।
प्रतियोगिताको उद्घाटन नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा र फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले रेफ्रीलाई बल प्रत्यायोजन गरेर संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष राजु बरालले स्थानीय तहमा रग्बीलगायत खेलकुद गतिविधिको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भौगोलिक तथा विकासका दृष्टिले गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’का रूपमा हेरिए पनि खेलकुद विकासमा सहयोग जारी रहने जानकारी गराए ।
नेपाल रग्बी संघका अध्यक्ष देवकोटाले प्रतिस्पर्धा आयोजना गरेकोमा फिक्कल गाउँपालिकालाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ छ टोली सहभागी छन् ।



पाठक प्रतिक्रिया (0)
तपाईंको प्रतिक्रिया दिनुहोस्
सभ्य र मर्यादित भाषाको प्रयोग गरौं। विचारहरूमा विविधताको सम्मान गर्दछौं।